काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि १६.४ ओभरमै अलआउट गरेको हो।
अस्ट्रेलियाको यू-१९ टोलीका पूर्वकप्तान बोसिस्टोले चार ओभरमा २८ रन खर्चिए। बोसिस्टो जारी एनपिएलको एकै इनिङ्ग्समा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन्। उनले १४औं ओभरमा तीन विकेट लिएका थिए। सो ओभरमा उनले दिलीप नाथलाई ३ रन, माइकल लिस्कलाई २ रन र नारायण जोशीलाई १ रनमा आउट गरे। नाथलाई क्याच गराएका उनले लिस्कलाई बोल्ड र नारायणलाई एलबिडब्लूको धरापमा आउट गरे।
१६औं ओभरमा उनले रेमन्ड राइफरलाई २० रनमा आउट गरेका थिए। त्यसअघि उनले कुशल भुर्तेललाई दशौं ओभरमा १० रन र १२औं ओभरमा माट क्रिचलीलाई शून्यमा बोल्ड गरे।
पोखराका ओपनरद्वय दिनेश खरेलले १९ बलमा २६ रन र आन्द्रेस गौसले १२ बलमा २५ रन जोडे। खरेललाई युनिस ठकुरीले छैटौं ओभरमा बोल्ड गर्दा विपिन शर्माले गौसलाई चौथो ओभरमा बोसिस्टोबाट क्याच गराए। खरेल र गौसबीच ४६ रनको साझेदारी हुनुबाहेक पोखराको इनिङ्ग्स कुनै बेला पनि सम्हालिन सकेन।
बलिङमा बोसिस्टोले ६ विकेट लिँदा विपिन, युनिस र कप्तान सोमपाल कामीले १/१ विकेट लिए।