काठमाडौं । लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले २५ हजार भारतीय रुपियाँ (भारु) मात्र ल्याउन पाउँछन् । जसले गर्दा भारतीय पर्यटकले चाहेर पनि यहाँ धेरै रकम खर्च गर्न पाइरहेका छैनन् । पर्यटन व्यवसायी श्रीचन्द गुप्ताले सरकारी अव्यावहारिक नियमले भारतीय पर्यटकलाई हैरानी भइरहेको बताए । घुम्न आए पर्यटकले मनलाग्दी खर्च गर्न पाउने प्रावधानसमेत नभएका कारण समस्या भइरहेको बताए ।
कम्तीमा एक लाख भारुसम्म बोकेर आउन दिनुपर्ने व्यवसायीहरूको माग छ । यसबारे प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई ध्यानाकर्षण गराइसकेको उनको भनाई छ । बाँकेको नेपालगन्जका पर्यटन व्यवसायी श्रीराम सिग्देलले पुरानै नियमले भारतीय पर्यटक पीडित बनेको बताए । उनका अनुसार पहिले २५ हजार भारुले घुमफिर गर्न पुग्थ्यो ।
अहिले त्यति रकमले एकदिन पनि नधान्ने बताउँदै उहाँले पर्याप्त रकम बोकेर आउन नपाउँदा भारतीय पर्यटकले मनग्गे खर्च गर्न नपाएको बताए । रुपन्देहीको भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार भारतीय रुपियाँ (भारु) मात्र नगद बोकेर आउन पाउने नियमले कठिनाइ भइरहेको बताए । त्यसबाहेक पोखरा, चितवन, काठमाडौँ र मुक्तिनाथसम्म भारतीय पुगिरहेका छन् । उनीहरूले बोकेर ल्याउने नगद रकमको दायरा साँघुरो भएकाले समस्यामा पर्ने गरेको बजिमयले बताए ।
आन्तरिक र भारतीयलाई पर्यटकको सूचीमा नराखेका कारण धेरै झन्झट बेहोर्नु परिरहेको उनको भनाइ छ । उनले नेपालबाट चीन र भारतमा असीमित मुद्रा पठाउन मिल्ने भए पनि उताबाट यहाँका लागि सीमित मुद्रा मात्र बोकेर ल्याउन र पठाउन मिल्ने बनाइएकाले दुःख पाइरहेको बताए । उनले राजमार्ग भद्रगोल रहेको अवस्थामा ठाउँ ठाउँमा भारतीय पर्यटकलाई रोकेर चेकिङका नाममा दुःख दिने गरिएकाले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जान नसकेको बताए ।