काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटना बढिरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसदहरूले मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान गएको पहिरोमा परी दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता हुँदा हराइरहेका ६५ जना यात्रुको शीघ्र खोज, उद्धार गर्न आग्रह गरे ।
सांसद शङ्कर भण्डारीले प्राकृतिक विपत्तिको सामान गरिरहेका नागरिकको उद्धार, राहत र क्षतिपूर्तिको कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरे । उनले अहिलेको परिस्थितिमा सिङ्गो सदन एकजुट भएर मुलुकसामु आइपरेको सङ्कट समाधान गर्न लाग्नुपर्नेमा जोड दिए । सांसद दामोदर पौडेल ‘वैरागी’ ले देशभर बाढी, पहिरो चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको भन्दै पीडितको उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । उनीहरुले पोखरा महानगर–१९ स्थित तल्लाकोटमा पहिरामा परी एकै परिवारका सात जनाको दुःखद् निधन भएको, दुईजना घाइतेको उपचार भइरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
मुलुकका अन्य स्थानमा पनि प्राकृतिक विपत्तिका घटना बढिरहेका जनाउँदै सांसद पौडेलले उद्धार र राहतमा समस्या भइरहेकाले तत्काल व्यवस्थापकीय कार्य मिलाउन आग्रह गरे । सांसद जीवन परियारले त्रिशूली नदीमा बस बेपत्ता भएको घटनामा दुःख व्यक्त गर्दै शीघ्र खोज र उद्धार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद ठाकुर गैरेले सरकारले विपद् जोखिमको लागि तयारी गरेको भए पनि उक्त तयारी पर्याप्त नदेखिएको भन्दै उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभर प्राकृतिक विपत्तिमा परेका नागरिकको यकिन विवरणसहित उनीहरुको उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन माग गरे । सांसद ज्ञानु बस्नेत सुवेदीले त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका नागरिकको उद्धार गर्न माग गरे । उनले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरे । सांसद प्रभु साहले मुलुक प्रकृतिक विपत्तिका घटनाबाट आक्रान्त रहेको भन्दै अहिलेको परिस्थितिमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रामनाथ अधिकारीले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोजन्य घटनाले जनजीवन प्रभावित बनेको भन्दै खोज, उद्धार र राहतका कार्यलाई चुस्त बनाउन माग गरे ।
सांसद मनबहादुर गुरुङले बाढी, पहिरोलगायत विपित्तिमा परेका नागरिकको खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरे । सांसद प्रदीप यादव र सांसद देवप्रकाश तिमल्सिनाले त्रिशूली घटनामा वेपत्ता नागरिकको यथाशीघ्र खोजी गरी उद्धार प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद डा अमरेशकुमार सिंहले उद्धार र राहतको कार्यलाई शीघ्र रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसदहरू तारा लामा तामाङ, रामप्रकाश चौधरी, अच्युतप्रसाद मैनाली, प्रभु हजारा र किरणकुमार साहले देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपत्तिका घटनाको ध्यानाकर्षण गराउँदै खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन माग गरे ।