Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भन्सार नाकामा स्तरोन्नति गरिन्छःअर्थमन्त्री महत


भन्सार नाकामा स्तरोन्नति गरिन्छःअर्थमन्त्री महत

काठमाडौं, भदौ २२ । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन्। काठमाडौँमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझाउदै अर्थमन्त्री डा. महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर सोसम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले बताए ।

जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर भएको अर्थमन्त्रीलाई उद्धृत गर्दै महासेठले बताए। सङ्घका महासचिव मनोजकुमार सिंहले हाल तेस्रो मुलकबाट आउने मालसामान मधेसका लागि वीरगञ्जद्वाराआउने भए पनि यातायातको दूरी बढी भएका कारण ढुवानी लागत बढ्न गई मालसामानको मूल्यसमेत बढ्न गएकाले जलेश्वर उत्तम विकल्प भएका बारेमा जानकारी गराएको बताए।

भारतस्थित पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, सम्सतीपुर साहरघाट हुँदै भिठामोड, जलेश्वर भन्सार कार्यालयबाट बर्दिबास, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँसम्मको दूरी आठ सय ८१ किमी हुँदा दुई सय ३८ किमी दूरी छोटिने सङ्घको भनाइ छ । सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, यसका साथै मधेस प्रदेशको राजधानी जनकपुरधाममा रेल्वसेवा सञ्चालन भइरहेकाले त्यसबाट अधिकतम लाभ लिनेगरी जनकपुर भन्सार कार्यालय तथा जटही भन्सार कार्यालयको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष महासेठले बताए।

यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९,८० को बजेट वक्तव्यमा जलेश्वरमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने घोषणा गर्नुभएका विषयमा सङ्घको प्रतिनिधि मण्डलले अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराएको थियो । जलेश्वर भन्सार कार्यालय विसं २०१३ मा स्थापना भएको थियो ।