एजेन्सी । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो ।
एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठुलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो ।
जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठुलो एयरलाइन्स हो । यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताए थिए ।
स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो । यो खबर सार्वजनिक भएपछि जेएएलको शेयर बिहानको कारोबारमा २.५ प्रतिशतसम्म घटेको छ ।