काठमाडौं, भदौ १४ । जीवन बीमा कम्पनीहरुले नयाँ बीमालेख बिक्री गरेर संकलन गर्ने प्रथम बीमाशुल्क घटेको छ । असार महिनाको तुलनामा साउनमा जीवन बीमा कम्पनीहरुले संकलन गर्ने प्रथम बीमा शुल्क ५६.५४ प्रतिशतले घटेको हो । साउनमा जीवन बीमा कम्पनीले दुई अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले असार महिनामा ५ अर्ब २८ करोड ७५ रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।सरकारले बीमालाई उच्च प्राथमिकता दिएर आएको छ।
बीमा प्राधिकरणले पनि बीमा पहुँच विस्तारको लागि स्थानिय तहसँग छलफल तथा अन्तरकृया जस्ता कार्यक्रमहरु सञ्चालन गर्दैछ । यद्यपि नयाँ बीमालेख बिक्री हुन मुस्किल भएको पाइन्छ। हाल सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क घटाएका छन् । सबै भन्दा धेरै प्रथम बीमा शुल्क घट्नेमा भर्खरै मर्जर पश्चात एकीकृत कारोबार गरेका सानिमा रिलायन्स लाईफ इन्सयोरेन्स रहेको छ । असार महिनामा ३५ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्कआर्जन गरेको इन्स्योरेन्सले साउन महिनामा ६७.७४ प्रतिशतले घटेर ११ करोड ३३ लाख रुपैयाँ मात्रै आर्जन गरेको हो ।
यस अवधिमा सबै भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा नेपाल लाईफ इन्योरेन्सले सर्वाधिक धेरै प्रथम बीमा शुल्क आर्जन गरेको छ । तर यसको पनि असारको तुलनामा साउन महिनामा ६०.५९ प्रतिशत घटेको छ । जीवन बीमा कम्पनीहरु मध्येमा राष्ट्रिय बीमा संस्थानको प्रथम बीमा शुल्क सबै भन्दा थोरै २१.८१ प्रतिशतले मात्र खस्केको छ । यद्यपि इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन पनि सबै भन्दा कम ४ करोड ३७ लाख रुपैयाँमा सिमित छ ।
यस्तै हिमालयन लाइफको ३६.४३ प्रतिशत, रिलायवल नेपाल लाइफको ५२.९३ प्रतिशत, सिटिजन लाइफको ५९.८४ प्रतिशत, सूर्यज्योति लाइफको ५८.४४ प्रतिशत, एशियन लाइफको ६४.४७ प्रतिशतले घटेको छ । यसैगरी नेशनल लाइफको ६२.३६ प्रतिशत, मेट लाइफको २९.९१ प्रतिशत, आइएमई लाइफको ४२.४९ प्रतिशत र सन नेपाल लाइफको ४६.१६ प्रतिशतले प्रथम बीमा शुल्क घटेको छ । लघु जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क भने बढेको छ । यस अवधिमा गाडियन माईक्रो जीवनको प्रथम बीमा शुल्क २०० प्रतिशतले बढेको छ भने क्रष्ट माईक्रोको १२६ प्रतिशतले बढेको छ ।