काठमाडौँ । आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले निगमको न्यारोबडी विमानलाई २४ गते फूलपातीका दिन उडान अनुमति जारी गरिएको बताए । आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो ।
यसअघि हिमालय एयरलायन्सको न्यरोबडीले काठमाडौं–पोखरा–काठमाडौंमा यात्रु नराखेर टेस्ट फ्लाइट मात्रै गरेको थियो । त्यस्तै निगमको न्यारोबडी र वाइडबडीले भैरहवा–काठमाडौं टेस्ट फ्लाइट र अन्तर्राष्ट्रिय उडान पनि गरिसकेका छन् । असोज ११—११ गते को भारी वर्षाका कारण भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरुद्ध भएकाले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यारोबडी विमान पठाउन सरकारले पहल गरेको हो ।