Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पञ्चेश्वर परियोजना ब्रेक थ्रु अन्तिम विन्दुमाःमन्त्री साउद


पञ्चेश्वर परियोजना ब्रेक थ्रु अन्तिम विन्दुमाःमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पञ्चेश्वर परियोजना ब्रेक थ्रुको विन्दुमा पुगेको दाबी गरेका छन् । पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने दाबी गरेका हुन ।

डडेलधुरामा शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा मन्त्री साउदले पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमवासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक रहेको बताए । पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्याउने मन्त्री साउदले विश्वास व्यक्त गरे । उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताए ।

नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ता बाहेकका सीमामा धेरै सहमति भइसकेको बताएका छन् । मन्त्री साउदले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताए । उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेकोसमेत बताए । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।

यसका साथै मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे । ‘भारतलाई १० हजार मेघावाट विद्यतु बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्प पीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउने लगायतका हामीबीच सम्झौता भएका छन् ।’

मन्त्री साउदले रुस–रुक्रेनमा पुगेका युवाका १३३ परिवारले जोखिममा परेकालाई फिर्ता गर्न मन्त्रालयमा आग्रह गरेको जानकारी गराए । उनीहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका बताए ।