बागलुङ । बागलुङको सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो। रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन। सालझण्डीबाट ढोरपाटनसम्म १९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किमी मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ। सोमध्ये रुपन्देहीमा ४.५ किलोमिटर र अर्घाखाँचीमा १३.५ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजनाले जनाएको छ । अहिले पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेका छन् ।