काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कुवेतको जजिरा एयरवेजले पुनः उडान थाल्ने तयारी गरेको छ । १५ महिनाअघि सेवा सुरू गरेको जजिराले पटक– पटक उडान स्थगित गर्दै आएकोमा अक्टोबर ३० देखि पुनः उडान थाल्ने तयारी गरेको हो ।
यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने जजिरा नै भए पनि पटक पटक विभिन्न समस्याले स्थगित गर्दै आएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विन्टर सिजनमा फेरी उडानलाई निरन्तरता दिने भनेर जजिराले नागरिक उड्डयन प्राधिकरणमा स्वीकृतको लागि पठाएको बताएका छन् । समर सेडुलमा उडान स्थगन गरेको जजिराले विन्टर सिजनमा पुनः निरन्तरता दिने भनेर स्वीकृतको लागि पठाएको जानकारी पाएको उनको भनाइ छ ।
उडानको समर सेडुल अक्टोबरमा सकिन्छ । अक्टोबर ३१ देखि ६ महिना विन्टरको तालिका हुन्छ । विन्टरको सेड्युलको लागि जजिराले स्वीकृति मागेको हो । १५ महिना अघि गौतमबुद्ध विमानस्थल उद्घाटन भएसँगै जजिराले उडान सुरु गरेपनि विभिन्न कारण देखाउँदै विचमा २ पटक उडान स्थगित गरेको छ । पछिल्लो पटक व्यावसायिक कारण देखाउँदै जेठबाट उडान रोकेको छ । यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधवार र शुक्रवार कुवेत भैरहवा उडान गर्दै आएको थियो ।
अब पनि सोही तालिकामा उडान गर्ने छ । ४ महिनायता रोकिएको जजिराको उडान अब नियमित हुन्छ वा हुँदैन भन्ने विषयमा पर्यटन व्यवसायी भने ढुक्क छैनन् । भारतसँगको हवाई रूट, हुस्सुको समयमा हुने प्राविधिक समस्या विमान कम्पनीले उठाउँदै आए पनि समाधान भएको छैन । अरबौँ लगानीको परियोजना उद्घाटन भएको डेढ वर्षसम्म पूर्ण रूपमा सञ्चालनमा जान नसक्दा थप घाटामा जानेछ भने यसलाई आधार बनाएर अरबौँ लगानी गरेको निजी क्षेत्रका व्यवसायी थप संकटमा परेका छन् ।