Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आजदेखि इ—भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु


आजदेखि इ—भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

काठमाडौँ । अध्यागमन विभागले आजदेखि ई—भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए । “हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ(भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ”, उनले  भने ।

‘ई—भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ (इटीए) लागू गरिएको विभागले जानकारी दिएको छ । यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवदेन गर्नसक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्नेछन् । विभागले सबै प्रकार सेवा शुल्क तथा जरिवानाहरु नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।

सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिने छ । विभागले सोबारे जानकारी इमेल तथा एसएमएसमार्फत दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाएको छ । विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली प्रारम्भ गरिएको जानकारी दिए। उनले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताए । विभागले नयाँ वेवसाइट आजैदेखि सुरु गरेको छ ।

महानिर्देशक तामाङले सबै अध्यागमन कार्यालयलाई स्वचालित प्रणालीको सञ्जालमा जोडिएको बताए। विभागले नाता र विवाहका आधारमा गैर पर्यटक भिसा लिने सेवाग्राही बाहेक अन्य सेवाग्राही विभाग आउन नपर्ने व्यवस्था गरेको हो । विभागको अनलाइन प्रणालीलाई राहदानी विभाग, उद्योग विभाग, कन्सुलर सेवा विभाग, भन्सार विभाग, ईन्टरपोल, वैदेशिक रोजगार विभाग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालय तथा अन्य विभिन्न निकायका अनलाइन प्रणालीसँग अन्तरआवद्धता गरिएको छ । विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समेत अन्तरआवद्धताका लागि तयारी गरिरहेको जनाएको छ ।

विदेशी नागरिकहरुले विभागबाट लिने सेवाको सेवा शुल्कको भुक्तानीका लागि अन्तर्राष्ट्रिय भुक्तानी प्रदायकमार्फत विभागको प्रणालीलाई जोड्न महालेखा नियन्त्रक कार्यालयसँग समन्वय भइरहेको समेत जानकारी दिइएको छ । भिजिट भिसामा जाने नागरिकले स्वघोषणा फारम अनलाइनमार्फत भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

आगामी फागुन १ गतेदेखि विदेशी नागरिकले निषेधित क्षेत्रमा पदयात्रा गर्नुपर्दा लिनुपर्ने पदयात्रा इजाजतपत्रलाई ‘अटो ट्रेकिङ एजेन्सी’ प्रणालीमा लैजाने र आवेदकले नेपाली बैङ्किङ प्रणालीमार्फत भुक्तानी गरे पश्चात अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षरित इजाजत जारी हुने व्यवस्था गरिएको छ । सो इजाजतपत्र सम्बन्धित एजेन्सीले आफैले प्रिन्ट गर्न सक्ने छन् ।