Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संविधान दिवसको अवसरमा हेटौंडामा ‘प्रथम हस्तकला प्रवद्र्धन मेला–२०८०’ आयोजना


संविधान दिवसको अवसरमा हेटौंडामा ‘प्रथम हस्तकला प्रवद्र्धन मेला–२०८०’ आयोजना

हेटौंडा । संविधान दिवसको अवसरमा वागमती प्रदेशको राजधानी हेटौंडामा २ दिने हस्तकला प्रदर्शनी सुरु भएको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयको प्रवद्र्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनामा हेटौडा उपमहानगरपालिकाको परिसरमा ‘प्रथम हस्तकला प्रवद्र्धन मेला–२०८०’ आयोजना गरिएको हो ।

असोज ३ र ४ गते २ दिन चल्ने मेलाको वागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख शर्माले नागरिकहरुको आर्थिक उपार्जनमा हस्तकलाको महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले हस्तकलाको विकास र विस्तार गर्न सके खण्डमा पर्यटन क्षेत्रलाई समेत टेवा पु¥याउन सकिने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले हस्तकलालाई पर्यटनसंग जोडेर विकास एवम् विस्तारको काम गरिने बताउनुभयो । हस्तकला उद्योगको प्रचार–प्रसार तथा अन्तराष्ट्रियकरणका लागि प्रदेश सरकारले पहिलो पटक हस्तकला मेला आयोजना गरेको उहाँले बताउनुभयो ।

मेलामा हस्तकलाका २५ वटा स्टल राखिएको बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा परालको सुकुल, खोस्टाको चकटी लगायतका सामाग्री प्रत्यक्ष रुपमा बनाएर देखाइएको छ भने प्रस्तक कला, धातुकला, काष्ठ कला, चाँदीका गरगहना, चित्रकला, नेपालीहाते कागज, ऊनी तथा फेल्ट, सेरामिक्सका सामानहरु, प्राकृतिक रेसा र कपडाका समानहरु, काठको ठेकी, बाँसुरी, धातुको बाघचाल, प्रदर्शनीमा राखिएका बताउनुभयो । प्रर्दशनीमा विशेष समुदाय विशेष ‘पौभा’ ‘पूँ’ चित्रकला समेत राखिएको छ ।

हस्तकलासँग आवद्ध उद्यमी व्यवसायी तथा शिल्पिहरुको हकहितलाई कायम गर्दै हस्तकलाको थप प्रवद्र्धन तथा स्तरोन्नति र हस्तकलाका उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको शाक्यले बताउनुभयो । प्रदर्शनीमा प्रदेशका १३ जिल्लाका विशेष हस्तकलाका उत्पादनहरु राखिएको छ । प्रदर्शनीको अवसरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच धातुको बाघचाल खेल समेत खेलाइएको थियो ।