काठमाडौं, भदौ १८ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार भएको छ ।पीडित किसानलाई मरेका पशु अनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत मापदण्ड बनाएको हो । मन्त्रालयले तयार गरेको मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डा. वेदुराम भुसालले बताए।
किसानलाई राहत दिने तयारीमा सरकार छ । राहत वितरणका लागि केही प्रक्रियागत उल्झन मात्रै बाँकी हो,। मापदण्ड बनाएका मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीका अनुसार किसानलाई नगदमै राहतको प्रस्ताव गरिएको छ । मापदण्डमा विवरण संकलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी तीन चरण प्रस्ताव गरिएको छ ।
किसानलाई दिने राहत पनि तीन प्रकारकै छ । किसानलाई ठूला वयस्क भैंसी र गाई मरेकोमा प्रति चौपाया २० हजार रुपैयाँ, स्थानीय जातको ठूला गाई भैंसी, गोरु र राँगालाई १५ हजार र मृतक बाच्छा, बाच्छीलाई ५ हजार रुपैयाँ राहत प्रस्ताव गरिएको हो । मन्त्रालयका अनुसार लम्पी महामारीका कारण भदौ दोस्रो सातासम्म देशभर ५२ हजार ५४८ पशु मरेको तथ्यांक छ ।