Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सदनमै मागियो उपसभामुखको राजीनामा, रास्वपाले जनायो आपत्ति


सदनमै मागियो उपसभामुखको राजीनामा,  रास्वपाले जनायो आपत्ति

काठमाडौं ।  नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ । सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताए ।

‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन’ उनले भने । संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन नसक्ने सांसद परियारले बताए ।

‘आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस्– राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ’, उनले भने । 

प्रमुख सचेतक परियारले अहिले सहज छ भनेर कसैलाई हटाउने र अर्को व्यक्ति लैजाने गर्दा भविष्यमा आफैंलाई अप्ठ्यारो पर्न सक्नेतर्फ सचेत हुन कांग्रेस-एमालेलगायत सत्तारुढ दललाई आग्रह गरे । ‘‘ एक वर्ष तपाईंले जित्नुहोला, दुई वर्ष तपाईंले जित्नुहोला । स्मरण रहोस् तपाईंहरूले आफैले खनेको खाल्डोमा आफैँ पर्नुहुनेछ । यो पनि लेखेर राख्नुस्’ परियारले भने ।

संख्याका आधारमा जे पनि गर्न सकिन्छ भन्ने हो भने जनताको साथ खोजिने उनले चेतावनी दिए ।