Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

व्यवसायी भट्टको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त


व्यवसायी भट्टको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले डडेल्धुराका एक व्यवसायीको दुःखद् निधन भएप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै काम गरेवापत रकम भुक्तानी नपाएकै कारण जिल्ला निर्माण व्यवसायी सङ्घ डडेल्धुराका कार्यसमिति सदस्य डम्बरदेव भट्ट (सन्तोष) को असार १५ गते धनगढीमा उपचारका क्रममा निधन भएको जनाएको छ ।

अमरगढी नगरपालिका–५ निवासी भट्टलाई घर नजिकैको जङ्गलमा घाइते अवस्थामा फेला पारिएपछि स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकामा उपचारका क्रममा निधन भएको थियो ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयअन्तर्गतका ठेक्काहरूको भुक्तानी नआएपछि भट्टले आफू ठूलो आर्थिक समस्यामा परेको निकटस्थलाई बताएको विज्ञप्तिमा उल्लेख छ । “व्यवसायीको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिकरुपमा विक्षिप्त भई ‘आत्मदाह’ गर्नसक्ने अत्यन्त विषम परिस्थितितर्फ यस महासङ्घले विगत केही महिनाअघिदेखि नै सरोकार भएका निकायको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको विदितै छ ।

त्यसै कारण डडेल्धुरामा एक व्यवसायीको दुःखद निधन भएको छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ । महासङ्घका अनुसार करिब रु ४० अर्बभन्दा बढी भुक्तानी नपाएर व्यवसायीहरू समस्यामा परेका छन् । आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत व्यवसायीले भुक्तानी पाउने अवस्था नरहेकाले तत्काल भुक्तानीका लागि तदारुकता देखाउन सरकारसमक्ष महासङ्घको माग छ । महासङ्घले व्यवसायी भट्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकटगरी घटनाको निष्पक्ष र सत्यतथ्य छानविन गर्नसमेत माग गरेको छ ।