Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शासकीय सुधारको आवश्यकता छ, परिणाम निराशाजनकः प्रधानमन्त्री दाहाल


शासकीय सुधारको आवश्यकता छ, परिणाम निराशाजनकः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको बताएका छन् । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने बताए ।

‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब खाली प्रशासकीय मात्रै होइन । समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौं । हामीले सेवा प्रवाहको क्षेत्रमा साना–साना कामहरुमा सुधार गरेर अनि ठूला–ठूला कामहरुलाई प्रायोटाइज गरेर जान जरुरी छ ।’ आफूले पहिलोपटक सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका उपाय खोज्नैपर्ने पनि बताए ।

‘मैले पहिलोचोटी सचिवहरुलाई निर्देशन दिँदैगर्दा जुन ठोस रुपमा प्रस्तुत गर्ने कोशिस गरिएको थियो । त्यो नतिजा र परिणाममा हेर्दा त्यो उत्साहजनक होइन, निराशाजनक रह्यो । भनेजसरी अगाडि जान सकेन । त्यसकारण कहीँ न कहीँ यसमा समस्या छ र यसको समाधान गर्ने उपाय पनि हामीले खोज्नै पर्नेछ,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २९ गते सरकारका सचिवहरुसँग बैठक गरी ३० बुँदे निर्देशन दिएका थिए ।

आफूले दिएको सोही निर्देशन स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल जनतालाई सेवा प्रवाह गर्न र जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न मातहतका सबै निकायलाई निर्देशनसमेत दिए । जनताले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत नगरेमा सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रप्रति जनताको भरोसा कमजोर हुँदै जानेतर्फ उनले ध्यानाकर्षण गराए ।