काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको तथ्यलाई पुष्टि गर्ने यथेष्ट संकेतहरु देखिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै महतले अहिले रेमिट्यान्स बढेको, पर्यटकको संख्या बढेको लगायतका कारण विदेशी मुद्रा सञ्चिति पनि बढेको र अर्थतन्त्रका वाहृय सूचक बलियो भइसकेको बताए । आन्तरिक अर्थन्त्रमा केही समस्या देखिए पनि अब ती समस्या न्यूनीकरण हुँदै गएको उनले दाबी गरे ।
गत आर्थिक वर्ष राजस्व कम हुनुमा पैठारीमा लगाएको प्रतिबन्ध, एलसीमा लगाइएको मार्जिन लगायत कारण रहेको उनले बताए । ‘कोभिड १९ को प्रभाव, रुस–युक्रेन युद्ध जस्ता कारणले अर्थतनन्त्रमा शिथिलता देखियो, कठोर मौद्रिक नीतिका कारण ब्याजदर बढ्यो, यसले ऋण लगानी बढ्न सकेन, मागमा आएको कमीले उद्योगी व्यवसायीले पनि लगानी गर्न चाहेनन्’ उनले भने ‘अब परिस्थिति फेरिएको छ, रेमिट्यान्स बढेको छ ।
पर्यटक बढेका छन्, यसले गर्दा होटल तथा रेस्टुरेन्ट लगायत सेवा क्षेत्रको व्यवसाय बढेको छ, चालु पुँजी कर्जालाई सुधार गरिएको छ, अर्थतन्त्र चलायमान हुने यथेष्ट संकेत देखिएका छन् ।’ सेयर बजारको गिरावट अस्थायी भएको उल्लेख गर्दै उनले अर्थतन्त्रमा सुधार आउँदै गर्दा बजार पनि बढ्ने दाबी गरे । देशमा अब सकारात्मक बहसको आवश्यकता रहेको उनले बताए । राजस्व चुहावट हुन नदिन प्रविधिको प्रयोग बढाउनतर्फ मन्त्रालय लागेको उनले बताए ।