काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । नेकपा एमाले र नेपाली कांग्रेसका ५६ सांसदले नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष सोमबार मात्रै दावी पेस गरेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ जना सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरिएको थियो । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दलको रूपमा रहेको नेकपा एमालेसँग २९ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सांसद छन् । लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त