काठमाडौ । चालु आर्थिक वर्षको १० महिनामा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको तथ्यांकले व्यापार घाटा २.२६ प्रतिशत रहेको देखाएको छ । विभागका अनुसार १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
गत वर्ष सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । साउनदेखि वैशाखसम्म १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ थियो ।