काठमाडौं । ‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालबीच सम्झौता भएको छ ।
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी मङ्गलवार नाफिज र अग्रवालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नाफिजकी अध्यक्ष मेनुका कार्की र परिसंघका अध्यक्ष अग्रवालले हस्ताक्षर गरेका छन् ।
गत २९ मंसिरमा सम्पन्न नाफिजको १५ औँ वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले आफ्नो स्वर्गीय पिता श्रवणकुमार अग्रवालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए । गत साउनमा निधन भएका श्रवणकुमार आरएमसी ग्रुपका संस्थापक हुन् ।
मारवाडी सेवा समितिका पूर्वअध्यक्षसमेत रहेका श्रवणकुमार संविधानसभा सदस्यसमेत थिए । उनको स्मृतिमा छोरा राजेशकुमार अग्रवालले अक्षयकोष स्थापना गर्ने घोषणा गरेपछि थप आवश्यक प्रक्रिया पूरा गरेर मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको नाफिजले जनाएको छ ।
फेलोसिप दिने गरी नाफिजमा स्थापना भएको यो नै पहिलो अक्षयकोष हो । समझदारीअनुसार अध्यक्ष अग्रवालले व्यक्तिगत रूपमा अक्षयकोषमा सात लाख रुपैयाँ जम्मा गर्नेछन् । नाफिजले त्यस अक्षय कोषबाट वार्षिक रूपमा एक जना आर्थिक पत्रकारलाई ५० हजार रुपैयाँ बराबरको फेलोसिप प्रदान गर्नेछ ।
खोजमूलक आर्थिक समाचार लेखनका लागि फेलोसिप प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ । फेलोसिप प्राप्त गर्ने पत्रकारलाई नाफिजले मेन्टर पनि उपलब्ध गराउनेछ ।