काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले भूतपूर्व श्रीमतीसँग जोडेर आफूलाई सहकारी ठगीमा मुछ्न खोजेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले पूर्व श्रीमती ज्योति गुरुङ र आफूबीच २०७६ फागुन २९ मा सम्बन्धविच्छेद भइसकेको बताए ।
सम्बन्धविच्छेद भइ अलग भएकी श्रीमतीको बारेमा आफूलाई केही पनि थाहा नहुने उनले बताए । विवाह गर्नु र मिल्न नसक्दा सम्बन्धविच्छेद गर्नुलाई अपराधको रुपमा लिन नहुने उनको भनाइ छ ।
‘कुनै पनि व्यापार, व्यवसायमा श्रीमान वा श्रीमती दुईमध्ये एक जना जोडिँदा अर्कोलाई पनि मुछेर हेर्ने र बुझ्ने हाम्रो प्रचलन छ । त्यसकारण मलाई त्यसमा जोड्न खोज्नु अनौठो होईन । तर, भूतपूर्व श्रीमान वा भूतपूर्व श्रीमतीलाई त्यसरी जोड्न भने व्यवहारिक, कानुनी र नैतिक दृष्टिले मिल्दैन भन्ने हेक्का राखिनुपर्छ,’– उनले भने ।
साथै, उनले आफू र श्रीमतीबीचको सम्बन्धविच्छेद नक्कली हो भनेर अभिव्यक्ति आउन थालेको भन्दै उनले त्यसलाई प्रमाणित गर्न चुनौति दिए । सहकारी ठगीबारे छानविन गर्न बनेको विशेष समितिले प्रतिवेदन पेश गर्नै लाग्दा विषयवस्तुलाई अन्त मोड्न आफूविरुद्ध नियोजित रुपमा यो घटना ल्याइएको उनले बताए । आफूमाथि लागेको आरोपको छानविनका लागि उनले संसद्लाई आग्रह गरे । आफूमाथि कुनै आशंका भएमा छानविन गर्न उनले आग्रह गरे ।