काठमाडौं । बाँकेमा यस वर्ष दसैँको अवसरमा जिल्लाका विभिन्न स्थानमा दुई करोड रुपियाँ भन्दा बढीका दुर्गा भवानीका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् । घटस्थापनाको दिन र पछिल्लो दिन गरि जिल्लामा चार सय बढि दुर्गाभवानीका मूर्ति प्रतिष्ठापन गरिएको हो ।
सवैभन्दा धेरै नेपालगन्ज नगरमा मात्रै करिब २५० दुर्गा मूर्ति प्रतिष्ठापन गरिएको छ । नेपालगन्जका टोल टोल, गल्ली गल्ली र चोक तथा सडकमा गरेर २५० भन्दा बढी दुर्गा मूर्ति राखिएको छ ।
बाँकेमा दुई करोड बढि रुपियाँको दुर्गा मूर्ति प्रतिष्ठान गरिएको अनुमान रहेको प्रहरीले जनाएको छ । यहाँ ४० देखि ८० हजार मूल्यका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् । एउटा मूर्तिको सरदर ५० हजार रुपियाँमात्र जोड्ने हो भने पनि बाँकेमा दुई करोड भन्दा बढी रुपियाँ मूर्तिमा खर्च भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्लाको नेपालगन्ज, खजुरा, कोहलपुर र राँझा लगायत गाउँ गाउँमा राखिएका दुर्गा मूर्तिहरु नेपालगन्ज र केहि भारतीय सीमा बजार रुपइडिहाबाट ल्याइएको जनाईएको छ । नेपालमा महंगो पर्ने र राम्रो नहुने भएको भन्दै धेरै ठाउँका स्थानीयबासीले भारतीय बजार पुगेर मूर्ति खरिद गरेर ल्याएको स्थानीय अगुवाले बताए ।