मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए ।
अरु चार जना साथीसँग घर फर्कने क्रममा उनिसहित अरु साथीहरुसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो ।
रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो । घटनाको मुचुल्का पछि शव परीक्षणका लागी जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।