चितवन — काठमाडौं छिर्ने मुख्य मार्ग धादिङ नौबिसे खण्डको त्रिभुवन राजपथ बुधबार र बिहीबार राति १० बजेदेखि बिहान तीन बजेसम्म बन्द हुने भएको छ । धादिङ धुनिबेसी नगरपालिका—७ नौबिसे खोला पुलको कामका लागि सडक बन्द हुन लागेको हो ।
नौबिसे–मलेखु सडक खण्डमा स्तरोन्नतिको काम हुँदै । दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर हुने यो खण्डलाई तीन भागमा विभाजन गरेर ठेक्का गरिए पनि निर्माण प्रगति न्यून छ । हाल नागढुंगादेखि मुग्लिनसम्म सडक बिस्तारको काम भइरहेको छ ।
सोही काम अन्तर्गत नौबिसे पुलमा काम गर्न आज र भोलि दुई दिन राति ५ घण्टा बाटो बन्द हुन लागेको नागढुंगा मुग्लिन सडक आयोजनाले जनाएको छ । मोटरसाइकल तथा साना गाडीका लागि बैकल्पिक मार्ग धादिङ धार्के सीतापाइला सडकबाट काठमाडौं जान सक्ने व्यवस्था मिलाएको आयोजनाले जनाएको छ । सो खणडमा पाँचवटा पुल निर्माण हुँदैछन् ।