Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष दिलबहादुर महर्जनको श्रीमती सहित तीन जना सञ्चालककै रकम दर्शन सहकारीमा [विवरण सहित]


कीर्तिपुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष दिलबहादुर महर्जनको श्रीमती सहित तीन जना सञ्चालककै रकम  दर्शन सहकारीमा [विवरण सहित]

काठमाडौं । ‘लोभले लाभ, लाभले विलाप’ भन्ने नेपाली उखान जस्तै बनेको छ, कीर्तिपुर स्थित कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था । कीर्तिपुरकै पुरानो सहकारी संस्थाकारुपमा स्थापित सो संस्थाका जिम्मेवार पदाधिकारी र परिवारको रकम नै अन्य सहकारीमा बचत गरेको देखिपछि यसले सहकारीमा थप समस्या ल्याउने आकलन गरिएको छ । कतिले त, ठुलो ब्याजको लोभले अन्य सहकारीमा रकम राख्ने सञ्चालक समितिबाटै कीर्तिपुर बहुउद्देश्यीय पनि भोली शिवशिखर, कृषि बहुउद्देश्यीय, लालिगुराँस, सूमेरु र सिभिल सहकारीकै हालतमा पुग्ने भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

कीर्तिपुर बहुउद्देश्यीय सहकारीका सञ्चालक समिति र तिनका आफन्तको रकम कीर्तिपुरकै दर्शन बचत तथा ऋण सहकारी संस्थामा रहेको पाइएको हो । अहिले सो सहकारीमा बचत फिर्ताको माग बढ्दै विभिन्न चरणमा आन्दोलन भइरहेका छन् । एक सदस्यले भने, ‘कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था पुरानो संस्था भएपनि उसको भविश्य नदेखेरै सञ्चालक समिति र परिवारका सदस्यले अन्य सहकारीमा रकम राखेको हुन सक्छ’ । उनले भनेको कुरालाई आधार मान्ने हो भने, के कीर्तिपुरका सहकारीको भविश्य छैन ? भन्ने प्रश्न उठिरहेको छ ।

बचत फिर्ता पीडित संघर्ष समिति संयोजक कञ्चन महर्जन सहित बागमती प्रदेश तत्कालिन सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको उपस्थितिमा संस्थाको वित्तीय विवरण सार्वजनिक गर्दा बचत रकमको दायित्व सार्वजनिक भएको हो । संस्थाले तत्कालिन मन्त्री बज्राचार्य, कीर्तिपुरकै एमाले नेता केशरत्न बज्राचार्य, संघर्ष समितिका संयोजक कञ्चन महर्जन, बाघ भैरव बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक पन्नारत्न बज्राचार्य लगायतको उपस्थीतिमा बचत तथा ऋणको दायित्व सार्वजनिक गर्न दवाव दिइएको थियो ।

सो समय संस्थाले उपलव्ध गराएको विवरणमा कीर्तिपुरकै पुराना संस्था कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीकै रकम दर्शनमा रहेको पाइएको छ । सार्वजनिक विवरण अनुसार कीर्तिपुर बहुउद्धेश्यीय सहकारी संस्था तथा कीर्तिपुर सहकारी संघका अध्यक्ष दिल बहादुर महर्जनकी श्रीमती गीता महर्जनको ६ लाख, ६८ हजार ५ सय ९० रुपैयाँ बचत रहेको देखिएको हो । उनकै श्रीमानले नेतृत्व गरेको सहकारीमा बचत गर्न छोडेर दर्शन सहकारी ब्याजको लोभमा रकम राखेको हुन सक्ने कतिको आकलन छ ।

त्यस्तै, कीर्तिपुर बहुउद्देश्यीय कै जिम्मेवार पदमा रहेका उपाध्यक्ष बाबुकृष्ण महर्जनको ३ लाख २४ हजार ९ सय रुपैयाँ बचत रहेको पाइएको छ ।  त्यस्तै, कीर्तिपुर बहुउद्देश्यीयकै अर्का सञ्चालक समिति सदस्य प्रदिप कुमार महर्जनको १ लाख ७१ हजार २ सय ९० रुपैयाँ बचत रहेको सार्वजनिक विवरणमा उल्लेख छ । त्यस्तै कीर्तिपुर बहुउद्देश्यीय संस्थाकै सञ्चालन सदस्य सुभद्रा प्रधान र परिवारका सदस्यहरुको नाममा केहि समय अघिसम्म दुई करोड बढी रकम बचत रहेपनि विभिन्न बहानामा रकम झिकेको दर्शन सहकारीले जनाएको छ ।

दर्शन सहकारीमा समस्या ल्याउन रकम झिकेको हुन सक्ने एक सदस्यले बताए । उनले भने, ‘सहकारीमा तरलता छ, भन्ने जानकारी हुदैँ गर्दा अन्यलाई पनि रकम भिक्न लगाउनुभयो’ । सुभद्रा महर्जन खड्ग भवानी बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष शैलेन्द्र प्रधानको श्रीमती भएको र शैलेन्द्रपनि कीर्तिपुर बहुउद्धेश्यीय सहकारी संस्थाकै पुर्व सञ्चालक समितिमा रहेर काम गरेको स्रोतले बतायो । 


हामीले दर्शन सहकारीका अध्यक्ष दिनेश दर्शनधारीलाई यस विषयमा बुझ्न खोज्दा बोल्न नमिल्ने बताए । उनले भने, ‘कुनै पनि बचत कर्ताको व्यक्तिगत विवरण सार्वजनिक गर्र्नु वित्तीय अपराध हो । हामीले ऋण र बचतको दायित्व सार्वजनिक गर्न मिल्दैन भन्दा पनि संघर्ष समितिका संयोजक कञ्चन महर्जन, स्थानीय एमाले नेता केशरत्न बज्राचार्य, बाघ भैरव बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक पन्नारत्न बज्राचार्य लगाएतले दवाव दिदा सार्वजनिक गर्न बाध्यभएका हौ । उनले भने, ‘सो समय बागमती प्रदेश तत्कालिन सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको उपस्थितिमा विवरण गोप्य राख्ने भनिएपनि संघर्ष समितिले विवरण सार्वजनिक गर्नुपर्ने अडान दिएको दर्शनधारीले बताए । 

विवरण सार्वजनिक भएपछि अहिले संस्थामा सम्पत्ति शुद्धिकरण विभागबाट प्रेसर आएको छ । हामीलाई बचतकर्ताको रकमको स्रोत देखाउन हम्मेहम्मे परेको छ, अध्यक्ष दर्शनधारीले बताए । यो एउटा उदाहरण मात्रै हो अहिले ब्याज रकम बढी पाउने आशामा कयौं सहकारी संस्थाहरुका जिम्मेवार पदाधिकारीले नै अन्य सहकारीमा रकम बचत गरेको खुल्न आएको छ । जसले गर्दा एउटा सहकारी संस्था समस्यामा आउदा अन्य सहकारीमा पनि समसया देखिएको कतिको भनाई छ । आफै सहकारी सञ्चालक हुँदा अर्कोे संस्थामा समस्या ल्याउनलाई पनि एकमुस्ट रकम निकाल्ने गरेको विज्ञहरुको भनाई  छ ।