काठमाडौं । शरदयाममा नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ८ हजारभन्दा अग्ला मकालु, धौलागिरि, मनास्लुसहित १० हिमालका लागि विभिन्न ४७ देशका आरोहीलाई पर्यटन विभागले अनुमति जारी गरेको छ ।
भदौ २९ सम्म मनास्लुका लागि ३ सय १, धौलागिरिका लागि १०, पुथा हिउँचुली र कुम्भकर्णका लागि ५-५, अन्नपूर्ण चौथो, मकालु प्रथम र रक्सा उरै हिमाल आरोहणका लागि ४-४ जना विदेशीले अनुमति लिएका छन् । हिमलुङ, नेमजुङ र थापापिकका लागि २-२ गरी कुल ३ सय ३९ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।
विभागले आरोहण अनुमति जारी गर्दै ३ करोड ६४ लाख रुपैयाँ सलामी दस्तुरबापत राजस्व संकलन गरेको छ । यसपटक हिमाल आरोहणका लागि चीनबाट ६७, संयुक्त राज्य अमेरिकाबाट ३३, रुसबाट २७, जापानबाट १५ सहित ३ सय ३९ जनाले आरोहण अनुमति लिएका छन् । यसमा महिला ७३ र पुरुष २ सय ६६ छन् ।
नेपाली आरोहीको संख्या भने ३ मात्रै छ । आरोहण अनुमति लिने क्रम मध्यमंसिरसम्म जारी रहेकाले अझै यकिन संख्या आइसकेको छैन । गत वर्षको शरदयाममा १ सय ७६ आरोहण दलका लागि १४ सय ४१ जनालाई विभागले अनुमति दिएको थियो । नेपालले हरेक वर्ष वसन्त, शरद र ग्रीष्म सिजनमा नेपालका हिमाल आरोहणका लागि अनुमति जारी गर्छ ।
यी हिमाल आरोहणका लागि सबैभन्दा धेरै सलामी दस्तुर वसन्तयाम र सबैभन्दा कम ग्रीष्मयाममा छ । नेपालले आरोहण लगायतका साहसिक गतिविधिका लागि ४ सय १९ हिमाल खुला गरेको छ । यीमध्ये ६८ हिमालमा अझै आरोहण हुन सकेको छैन ।