काठमाडौँ । नव नियुक्त प्रधानमन्त्रीलाई बधाई दिनेहरुको भिड लाग्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरेका छन् । उनले कार्य व्यस्तता र समयको सदुपयोग हुने भन्दै प्रविधी प्रयोग गर्न सुझाएका हुन ।
उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, समयको बचतका लागि त्यसो गर्नु होला । प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका हुन ।
“विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । गत असार ३० गते उनि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।