काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकसँग चार सर्त राख्दै प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको बताए । निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिका बाहेक पनि चार सर्तहरु पूरा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ ।
उनका अनुसार टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ ।
हामीले यी सर्तहरु राख्दा टिकटकले स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरेका छौं, उनले भने । सामाजिक सद्भाव भड्काएको भन्दै २०८० असोज २७ गते तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो । मन्त्री गुरुङका अनुसार अब टिकटकमात्र नभई सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न पाउने छैनन् ।