पर्वत। जिल्लाभित्र करोडौँको लगानीमा निर्माण भएका चिस्यान केन्द्र प्रयोगविहीन बनेका छन् । अहिले सुन्तला, किबी, आलुजस्ता कृषिउपज सिजनमै सस्तोमा बिक्री गर्नुपरेको छ । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सीधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठवटा चिस्यानगृह रहेका छन् ।
जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलव ५ मेट्रिक टन रहेको छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौंमा रहेका तीनवटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा २ दशमलव ५ मेट्रिक टन क्षमता रहेका दुर्ईवटा कोल्डस्टोर सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ ।