एजेन्सी । भारतको संसदद्धारा एकैदिन ७८ जना विपक्षी सांसदहरूलाई निलम्बन गरिएको छ । लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसदहरू निलम्बित गरिएका हुन् । संसद्मा भएको सुरक्षा गल्तीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ मागेर विपक्षी सांसदहरूले लगातार विरोध गर्दै आएका थिए ।
विपक्षीको विरोधका कारण बैठकमा अवरोध हुँदै आएको थियो । सरकारको प्रस्तावमा दुवै सभाका अध्यक्षहरूले संसद्मा विरोध प्रदर्शनमा उत्रिएका विपक्षी दलका ठूलो संख्यामा सांसदहरूलाई सोमबार निलम्बन गरेको हो । जारी संसद्को शीतकालीन सत्रभरका लागि सांसदहरूलाई निलम्बन गरिएको छ ।
लोकसभामा विपक्षी दलका नेता कांग्रेस सांसद अधिर रञ्जन चौधरी पनि निलम्बित भएका छन् । त्यस्तै राज्यसभा सांसद जयराम रमेश, केसी वेणुगोपाल, रणदीप सुरजेवाला, मनोज झालगायत पनि निलम्बनमा परेका छन् ।एक साता अगाडि गत बुधबार दुई जना युवाहरू दर्शकदिर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए ।
उनीहरूले पहलो रंगको धुँवा संसद्मा फैलाएका थिए । संसद् भवनमा आतंकवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर केही युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका थिए । १३ डिसेम्बर २००१ का दिन संसद् भवनमाथि आतंकवादी हमला भएको थियो ।