Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पोखरामा प्रदेश युवा सम्मेलन सुरु, १० जनालाई ‘आईकन अफ गण्डकी प्रदेश’बाट सम्मानित


पोखरामा प्रदेश युवा सम्मेलन सुरु, १० जनालाई ‘आईकन अफ गण्डकी प्रदेश’बाट सम्मानित

कास्की । नेपालको पर्यटकीय राजधानी पोखरामा शुक्रबार ‘गण्डकी प्रदेश युवा सम्मेलन’ सुरु भएको छ । नेपाल युवा परिषद्को आयोजनामा पोखराको रोयल महलमा आजदेखि सुरु भएको सम्मेलनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।

नेपाल युवा परिषद्ले विभिन्न क्षेत्रमा क्रियाशील भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य विधामा काम गर्ने १० जनालाई ‘आईकन अफ गण्डकी प्रदेश’ वितरण गरेको छ ।

सम्मानित हुनेमा पत्रकारितामा विजय नेपाल, समाजसेवामा प्रिन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सूचना तथा प्रविधिमा रबिन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल रहेका छन् । यसैगरी महिला तथा बालबालिका विद्यामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली रहेकी छन् । लामो समयदेखि बालगृह सञ्चालन गर्दै आएकी पराजुलीले यसअघि पनि प्रादेशिक तथा राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् ।कार्यक्रममा गण्डकी प्रदेश रजिष्ट्रार भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मानित गरिएको थियो ।

‘आईकन अफ गण्डकी प्रदेश’का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनौट समितिसमेत चयन गरेको छ । जसमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियान्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए । यो समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशभित्रका १० जना छनौट गरी परिषद् समक्ष पेस गरेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले युवा विदेशिने ग्लोबल टेन भएको भन्दै युवा विदेशिए पनि देशप्रतिको दायित्व कहिल्यै बिर्सन नहुने बताए । विदेश गएका युवाले देश र राष्ट्रको भविष्यप्रति चिन्ता गर्नुपर्ने र स्वदेशप्रति गाली मात्र गर्न नहुने सुझाव दिए । आजबाट सुरु भएको सम्मेलन भोलीसम्म चल्नेछ ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, कृषी उद्यमी बोधराज अर्याल लगायतले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । प्रदेशभरबाट सहभागी करिब २०० जना युवाहरूबीच बृहत छलफलपश्चात पोखरा घोषणापत्रसमेत जारी हुने नेपाल युवा परिषद्का अध्यक्षले जानकारी दिए ।