काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचतकर्ताले रकम फिर्ता पाउने बताएका छन् । उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेकाले फिर्ता हुने बताए । बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ५ सय ७५ भन्दा बढी त जेलमै छन्, सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।