Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पहिलो पटक चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपालाई निम्तो गरेको छः उपसभापति डीपी अर्याल


पहिलो पटक चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपालाई निम्तो गरेको छः उपसभापति डीपी अर्याल

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागले पार्टीगत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो पटक निमन्त्रणा गरेको छ । नेताहरु व्यक्तिगत रुपमा चीन भ्रमणमा यसअघि गए पनि चिनियाँ कम्युनिस्ट पार्टीले औपचारिक रुपमा निम्तो गरेर बोलाएको भने यो पहिलोपटक हो ।

अरु देशले रास्वपा नेतालाई बोलाउने गरे पनि चिनियाँ कम्युनिस्ट पार्टीले दिएको महत्व सरहको निम्तो हालसम्म नआएको उपसभापति डीपी अर्यालले जानकारी गराए ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा ७ सांसद र ७ गैरसांसद छन् ।

पार्टी उपसभापति वाग्ले, अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका छन् ।

औपचारिक र पार्टीगत निम्तोमा पहिलोपटक जान लागेको भ्रमण टोलीमा सहभागी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । चीनको पार्टीले रास्वपालाई पार्टीगत रुपमा यो तहको निमन्त्रण गरेको पहिलो हो,’ चीन उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झाले भने,‘यति लामो समयका लागि यति धेरै जना, यति धेरै ठाउँ जाने, यति धेरै मान्छे भेट्ने कार्यक्रम चाहिं पहिलोपटक हो ।’ शनिबार चीन गएको टोली १० दिन पछि नेपाल फर्कनेछ ।

रास्वपाका नेताहरुका अनुसार टोली तीन प्रान्तमा अवलोकन, अध्ययन, अन्र्तक्रिया कार्यक्रम गर्नेछ भने बेइजिङ पुगेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुलाई भेट्ने कार्यक्रम छ । टोलीको नेतृत्व गरेका उपसभापति वाग्लेले मूलत यो राजनीतिक भ्रमण भएको विमानस्थलमा बताए ।

‘चिनियाँ सरकारका विभिन्न तहका अधिकारी र चिनियाँ कम्युनिस्ट अन्तराष्ट्रिय विभागसँग बेइजिङ पुगेर औपचारिक अन्तक्रिया गर्छौं, वाग्ले भन्छन्,‘के के योग्यताका आधारमा पार्टीभित्र पदोन्नति गरिन्छ । धेरै छ हामीले सिक्नुपर्ने । सिक्ने कुरा बढी हुन्छ जस्तो मलाई लाग्छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीको आन्तरिक लोकतन्त्रको बारेमा पनि जानकारी लिने उनले बताए । वाग्लेका अनुसार नेपालस्थित चिनियाँ दूतावाससँग पनि लामो समयको तयारीका साथ अहिलेको मिति तय भएको हो । हतार नगरी तयारी र योजनावद्द ढंगले जानका लागि अहिलेको समय तय गरिएको वाग्लेले जानकारी गराए ।

चीनको पूर्वी तटमा भइरहेको ‘चामत्कारिक’ औद्योगिक विकास र नयाँ प्रविधिका बारेमा जानकारी लिने उद्देश्य रास्वपाका नेताहरुले राखेका छन् । औद्योगिक क्षेत्रहरुको भ्रमण, थींक ट्यांकहरुसँग संवाद र विश्वविद्यालयहरुको अवलोकन, चिनियाँ प्राध्यापक र अध्येतासँग दुईपक्षीय छलफल लगायतको कार्ययोजना रहेको वाग्लेले सुनाए । राजनीतिक र परराष्ट्र दुई अर्थले भ्रमणको महत्व रहेको रास्वपा नेताहरुको भनाई छ ।

रास्वपाका नेताहरुको अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले निम्तो पठाएको ६/७ महिना अघि नै हो । संसदीय गतिविधि, जिल्ला भ्रमण, राष्ट्रिय भेला लगायतले गर्दा भ्रमणलाई पछि सारेर अहिलेका लागि समय निश्चित गरिएको हो । भ्रमणका लागि भ्रमण मात्रै नभएर प्रभावकारीता र उपलब्धीपूर्ण होस् भनी तयारीका लागि समय सारिएको वाग्ले बताउँछन् ।

भ्रमणमा जानु अघि केही चासो रहेको र त्यसको सम्बोधन गर्न चिनियाँ पक्ष तयार भएपछि चीन जाने निश्चित भएको उपसभापति वाग्लेले जानकारी गराए । रास्वपाका तर्फबाट के के चासो थियो र चीनले के के विषय सम्बोधन गर्‍यो बारे भने जानु अघि प्रतिक्रिया दिँदा वाग्लेले खुलाएनन् ।

वाग्ले भन्छन्,‘चीन भ्रमणमा जानका लागि जुन जुन चासो रास्वपाले देखाएको थियो, असाध्यै हार्दिकताका साथ आत्मियता देखाएर सम्बोधन गरिदिनु भएको छ ।’

चौथो शक्तिका रुपमा रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीले ‘महत्वका साथ’ आमन्त्रण गरेको रास्वपाको बुझाई छ । कार्यवाहक प्रवक्ता झा रास्वपाको सबल अस्तित्वलाई छिमेकी देशहरुले स्विकारेको यो भ्रमणले सन्देश दिएको दाबी गर्छन् ।