काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्क पूर्वक लगानी गर्न आग्रह गरे । मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबार समेत बढेको, पर्यटक आगमन बढ्नुका साथै विप्रेषणमा वृद्धि भइरहेको बताए ।
कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णयसँगै बैङ्क र बीमा कम्पनीले तिर्न थालिसकेको उहाँको भनाइ थियो । सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने मन्त्री महतले बताए । जलविद्युत्, प्रविधिमैत्री कृषि, पर्यटन र सडक निर्माणमा लगानीमा जोड दिने उनको भनाई छ ।
मन्त्री डा महतले दत्तचित्त भएर एकताका साथ पार्टीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सबै लागे काँग्रेसले बहुमत ल्याउने उल्लेख गर्दै एकता भाव, सद्भाव र एकीकृत भएर लाग्नुपर्नेमा जोड दिए । सहकार्य र सहमतिका बीच सत्ता गठबन्धन गरेको उनको भनाइ थियो ।