Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सन् १९२९ मा आजकै दिनःमार्टिन लुथर किङको जन्म


सन् १९२९ मा आजकै दिनःमार्टिन लुथर किङको जन्म

एजेन्सी । सन् १९२९ मा आजकै दिन (जनवरी १५) मा मार्टिन लुथर किङ जुनियरको जन्म भएको थियो । उनको नेतृत्वमा १९५० को मध्य–दशकमा सुरु भएको आन्दोलनले अश्वेत अमेरिकीका लागि शिक्षा र रोजगारीको समान अधिकार स्थापित गरेको थियो । अमेरिकामा भएको नागरिक अधिकारसम्बन्धी आन्दोलनका क्रममा लुथर किङ १५ पटक पक्राउ परेका थिए । अमेरिकामा नश्लीय विभेदसम्बन्धी संघीय तथा राज्यस्तरीय कानुनमा रहेको व्यवस्था अन्त्यको माग गर्दै सन् १९५५ देखि १९६८ सम्म आन्दोलन भएको थियो । माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन तथा नागरिक अवज्ञामा लुथर किङले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । त्यसक्रममा उनले समानता र न्यायको पक्षमा कम्तीमा २ हजार ५ सय भाषण दिएका थिए । तीमध्येको सबैभन्दा चर्चित भाषण ‘आई ह्याभ अ ड्रिम’ का कारण अमेरिकी संघीय सरकार समानताको पक्षमा कानुन ल्याउन बाध्य भएको ठानिन्छ । नागरिक अधिकार र सामाजिक न्याय स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको जनाउँदै १९६४ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । लुथर किङको अग्रसरतामा भएको आन्दोलनका कारण अमेरिकामा नागरिक अधिकार र मताधिकार ऐन कार्यान्वयनमा आएका थिए । उनले भियतनाम युद्धमा अमेरिकी संलग्नताको समेत विरोध गरेका थिए ।