काठमाडौं, श्रावण ३० । अर्थमन्त्री प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउन सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताए ।
आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ, यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो उनले भने, चालू आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार अहिले अर्थतन्त्र सकारात्मक गतिमा भएकाले निजी क्षेत्रले सबैथोक खराब छ भन्न मिल्दैन । उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराहरूको चर्चा गर्न अनुरोध गरेका छन ।
अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्त मात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, विस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उनको विश्वास छ। पैसा बजारमा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने भाष्यको प्रचार बढी भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ।मन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाव दिएका थिए ।