काठमाडौं, भदौ ३ । चालू आर्थिक वर्षको पहिलो महिनामा सरकारले ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा चालू आवमा उठाउने लक्ष्यको ५.५४ प्रतिशत मात्रै संकलन भएको हो । यस वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व उठाउने सरकारको लक्ष्य राख्यको छ । गत आर्थिक वर्षको साउन महिनामा ७९ अर्ब ७२ करोड राजस्व उठेको थियो ।
जसको तुलनामा चालू आवको साउनमा उठेको राजस्व १.०६ प्रतिशतले कम हो । यसमा कर राजस्व ७० अर्ब १७ करोड र आठ अर्ब ६९ करोड संकलन भएको छ । यस अवधिमा सरकारले नौ अर्ब ३४ करोड अन्य आम्दानी समेत गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार साउन मसान्तसम्ममा सरकारले ३५ अर्ब १७ करोड ९० लाखबराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको कुल प्राप्ति भने ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँ बराबर छ ।
चालू आर्थिक वर्षमा सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालूतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ, पुँजीगततर्फ चार खर्ब ७१ अर्ब ६ करोड ५८ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख रुपैयाँ बराबर बजेट छुट्याइएको थियो ।
साउन मसान्तसम्ममा चालूतर्फ १२ अर्ब १९ करोड १७ लाख ९अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत र पुँजीगतद्वारा ९० करोड ६१ लाख अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत बराबर खर्च भएको छ । यो अवधिमा चालू र पुँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थाद्वारा २२ अर्ब सात करोड ८१ लाख रुपैयाँ बराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशत बराबर हो ।