म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए । केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन गरेको छ ।
स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । स्वाँतको भिरमा आज पनि महसिकारलाई निरन्तरता दिइने भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताए ।
एउटा महसिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् । म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन् । भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ)मा झुण्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताए ।
वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा प्रतिलिटर दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ ।
स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाको भनाइ छ ।
मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्ड्याउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रुख र ओढारमा लुक्छन् ।
माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिएको धवलागिरि गाउँपालिका–२ खोरियाको महसिकारी मनबहादुर चोचाङ्गीले बताए ।