Thursday, November 28, 2024

२०८१ मंसिर १३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अभिभावकको सहमतिमा विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई ३ हजार जरिवाना


अभिभावकको सहमतिमा विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई ३ हजार जरिवाना

जुम्ला । पातारासी गाउँपालिकास्थित श्री ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । विद्यालयमा मोबाइल लैजाँदा विद्यार्थीहरूले ध्यानपूर्वक नपढ्ने र मोबाइलमै रुमल्लिने भएकोले मोबाइल प्रतिबन्ध गरेको हो ।

विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय शिक्षक, अभिभावक र विद्यार्थीसँग छलफल गराएर अनुमोदन गरेपछि कार्यन्वयनमा आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

सो निर्णयप्रति सबैको साथ र समर्थन रहेको र अब विद्यालयमा विद्यार्थीहरूले मोबाइल लैजान पाउने छैनन्,' प्रधानाध्यापक कृष्ण बुढाले भने, ‘मोबाइल भेटिएमा तीन हजार रुपैयाँ जरिवाना हुनेछ । जरिवाना स्वरुपको रकम एक साताभित्र सम्वन्धित विद्यार्थीको अभिभावक आएर विद्यालयमा जम्मा गर्नुपर्नेछ । यदि अभिभावक नै नआएको बखत सो मोबाइल लिलाममा विद्यालयले नै बेच्नेछ ।’

मोबाइल बेचेर आएको रकमले मोबाइल ल्याउने विद्यार्थीको शैक्षिक सुधारमा लगाइने प्रधानाध्यापक बुढाले बताए । ऋणमोक्ष  माध्यमिक विद्यालयमा गतसाता देखि यो निर्णय कार्यन्वयनमा आएको हो । विद्यालयमा मोबाइल प्रतिबन्ध गराउने निर्णयले अभिभावक खुसी छन् । अहिले विद्यालयमा लाइनदेखि कक्षाकोठा प्रवेश गर्दा मोबाइल ल्याएको छ या छैनन् भनेर खोजी नै हुने गरेको छ ।

विद्यालयमा पहिले एक सयभन्दा बढी विद्यार्थीहरू मोबाइल बोकेर आइरहेका हुन्थे । विद्यालयको वाइफाइको पासवर्ड लिएर गेम खेल्ने, कक्षामा पढाइ छाडेर खेलमैदानमा आएर मोबाइलमा झुम्मिने गर्दा पठनपाठन प्रभावति हुने गरेको थियो ।

विद्यालयमा शिक्षकले मोबाइल विद्यालयमा लैजान पाउने भएपनि अनिवार्य साइलेन्टमा राख्नुपर्ने निर्णय भएको छ ।