काठमाडौँ। देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ । प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यसहित काठमाडौँमा दुईदिने सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ भन्ने नाराका साथ काठमाडौँमा हुने ‘नेपाल हेल्थ कन्क्लेभ’मा ९० भन्दा बढी देशबाट दर्ता भएका एक हजार जना सहभागी हुँदैछन । यीमध्ये तीन सय जनाको भौतिक उपस्थिति र सात सयजना भर्चुअल माध्यमबाट सम्मेलनमा जोडिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
यस सम्मेलनले प्रवासी र स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीबीच ज्ञान र प्रविधिको हस्तान्तरणलाई प्रोत्साहन गर्ने मन्त्रालयको विश्वास छ । यस्तै, अनुसन्धान, नवीनता र तालिमका लागि सहकार्यलाई प्रवर्द्धन गर्ने एवं दीर्घकालीन संलग्नताका लागि नीतिगत सहजीकरण र रणनीति निर्माण गर्ने सम्मेलनको उद्देश्य रहेको प्रवक्ता डा बुढाथोकीले बताए ।