काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले नीतिगत प्रतिबद्धता सार्वजनिक गरेका छन् । गत असार १७ गते भएको संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमति अनुसार जनचाहनालाई सम्बोधन गर्ने संकल्पका साथ आठ बुँदे नीतिगत प्रतिबद्धता जारी गरेका हुन । आठ बुँदे नीतिगत प्रतिबद्धतामा राष्ट्रिय हितको रक्षा, संविधान कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन गर्ने उल्लेख छ । उनीहरुले संविधानको रक्षा, कार्यान्वयन र विकासको मुख्य दायित्व र जिम्मेवारीबोधका साथ संविधानको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
संविधान कार्यान्वयनको समग्र अवस्था, प्राप्त उपलब्धि र कमीकमजोरी तथा बाँकी कामहरुका सम्बन्धमा वस्तुनिष्ठ समीक्षा गर्ने प्रतिबद्धता कांग्रेस—एमालेले जनाएका छन् । साथै संविधान संशोधनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र तथा संघीय र समावेशी शासन प्रणाली लगायत २०६२—६३ को जनआन्दोलनका उपलब्धिहरु तथा संविधानका आधारभूत स्तम्भहरुलाई थप संस्थागन र सुदृढ गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।