काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोममा भएको ‘विवाद’ बारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना नेतृत्वको समितिले बुधवार काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेतलाई प्रतिवेदन बुझाएको हो ।
समितिमा डीएसपी गङ्गा पौडेल, सशस्त्रका डीएसपी प्रमोद राय, पत्रका गोविन्द चौलागाई र अधिवक्ता सचितानन्द काफ्लेसहित ७ जना सदस्य थिए । छानबिन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको अधिवक्ता सचितानन्द काफ्लेले बताए ।
कृष्णमुर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेपछि विवाद भएको थियो । साउन ३२ मा कोटिहोमको अन्तिम दिन राति पशुपतिमा कथाबाचक कृष्णमुर्ति जी महाराजलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएका प्रहरीले धरपकड गरेका थिए ।
तर, उनका भक्तहरूको अवरोधपछि प्रहरी अधिकृतहरू उनलाई गिरफ्तार गर्नबाट पछि हटेका थिए । आफूलाई ‘महाराज’ दाबी गर्ने भण्डारीले प्रहरी प्रधान कार्यालयबाट लिएको ‘पुलिस रिपोर्ट’ बारे सोधपुछ मात्र गर्न खोजेको प्रहरीको भनाई छ ।