वीरगञ्ज । बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबिचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ ।
स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि सो नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन ।नगरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो ।
बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएकोे झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी चार महिनादेखि तलबभत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ । बहुदरमाई नगरपालिका उपप्रमुख सुष्माकुमारी कुशवाहाले नगरसभाबाट बजेट पारित भएको एक महिना बित्नै लाग्दा पनि नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारनामा नदिँदा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले तलबभत्ता नपाएको बताइन्।