Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थतन्त्र केही शिथिल देखिएको छ, तर सङ्कटको अवस्थामा पुगेको छैनः अर्थमन्त्री पुन


अर्थतन्त्र केही शिथिल देखिएको छ, तर सङ्कटको अवस्थामा पुगेको छैनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताएका छन् । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गरे ।

नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । यद्यपि सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको उनले स्वीकार गरे । मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको उनको भनाई छ । सकारात्मक सोच र आत्मविश्वास हुने हो भने लगानी बढ्ने र त्यसले अर्थतन्त्र वृद्धिमा सहयोग पु¥याउने अर्थमन्त्री पुनको भनाइ छ ।

सरकारले यसअघि अवलम्बन गरेका र पूर्वअर्थमन्त्रीले ल्याएका सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने उनले विश्वास दिलाए । विगतमा अर्थतन्त्रमा देखिएका सङ्कुचनका कारण लिइएका कडा नीतिलाई बिस्तारै खुकुलो बनाउँदै लगिने धारणा अर्थमन्त्री पुनले राखे । यसबारे विषयगत मन्त्रालय र विभिन्न निकायसँग छलफल भइरहेको उनले जानकारी दिए । पछिल्लो समय धितोपत्र बजारमा सुधारका सङ्केत देखिएको भन्दै यसले बजार चलायमान गर्न सहयोग पु¥याउने उनको भनाई छ ।

नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न पनि मन्त्री पुनले निर्देशन दिए। कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्ने उनको भनाइ छ । कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले बचत परिचालन गरी राष्ट्रिय पुँजी निर्माणको आधार तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

कोषले आफ्नो व्यवसाय विस्तार, प्रतिफल योग्य लगानी, जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा योजनाबद्ध ढङ्गले काम गरिरहेको उनको भनाई छ । लगानीलाई विविधीकरण गर्ने, जोखिम विश्लेषण गर्दै प्रतिफल योग्य क्षेत्रमा लगानी विस्तार गर्ने, राज्यले प्राथमिकतामा राखेका पूर्वाधारका क्षेत्रमा लगानी बढाउने, कोषका कामलाई थप प्रविधिमैत्री बनाउने र सेवा प्रवाहलाई सहज बनाउँदै लैजाने गरी काम गरिरहेको कार्यकारी निर्देशक कार्कीले दाबी गरे ।

वैदेशिक रोजगारीमा रहेका नागरिकलाई कोषका कार्यक्रममा आबद्ध गराउन अध्ययन सुरु भएको कार्कीले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात रू दुई खर्ब ४० अर्ब ५१ करोड रहेको छ भने यो अवधिमा कोषले विभिन्न क्षेत्रमा रु दुई खर्ब ३५ अर्ब पाँच करोड बराबर लगानी गरेको छ ।