काठमाडौं, भदौ ४ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा कालोबजारी गर्न सुरु भइरहेको छ । भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो । तर नेपालमा बिचौलियाले मूल्य बढाउन थालिसकेका छन् । कृत्रिम अभाव र कालोबजारी गर्ने तत्त्व सलबलाउन थालेको सरोकारवाला बताउँछन् । भारतबाट आयातै नगरिएको प्याजको मूल्यसमेत व्यापारीले बढाएका छन् ।
शनिबार होलसेलमा प्याजको मूल्य प्रतिकिलो ६० देखि ६५ रुपैयाँ थियो, खुद्रा मूल्य ७० देखि ७५ रुपैयाँ चलेको थियो । आइतबार होलसेलमा खरिद मूल्य ८० रुपैयाँ परेको छ, खुद्रामा बिक्री गर्दा ९० देखि एक सय रुपैयाँ पुगेको छ, एक खुद्रा व्यापारीले भने, मूल्य किन बढ्यो, जानकार छैनौं । होलसेलमा बढेपछि हामीले पनि बढाएका छौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा प्याजको मूल्य ३ दिनदेखि स्थिर छ । समितिले आइतबार प्रतिकिलो ६० देखि ६२ रुपैयाँ तोकेको छ ।
व्यापारीले भने मनोमानी रूपमा मूल्य बढाउन थालेका हुन् । स्वदेशमा उत्पादन पर्याप्त नहुँदा कालीमाटी तरकारी बजारमा शतप्रतिशत प्याज भारतबाटै आउँछ । समितिमा भित्रिने तरकारीले उपत्यकाको करिब ६० देखि ७० प्रतिशत माग धान्छ । कालीमाटीमा दैनिक औसत १०० टन प्याज भित्रिन्छ । शनिबार कार्यालय बन्द हुँदा भन्सार हुने भएन । आइतबार करिब ४० टन भित्रिएको छ । आइतबार कम परिमाणमा भित्रिए पनि व्यापारीहरूसँग प्याज मौज्दात नै छ ।
तर, भारतले निर्यात कर लगाएको चर्चासँगै यहाँ तत्काल मूल्यवृद्धि गरेर कालोबजारी गरिएको हो । भारतले अपनाएको कर नीतिले नेपालमा महँगी बढाए पनि आजको भोलि मूल्य बढ्नु गलत भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । भारतले प्याजमा लगाएको कर नीतिले नजिकिँदै गरेका चाडबाडलाई प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ । बजारमा देखिने यस्तो तत्त्व र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न नियामक निकाय तत्काल सक्रिय हुनुपर्ने उनले बताए । प्रतिकिलो ७० रुपैयाँ पर्ने प्याज बिचौलियाले अस्वाभाविक रूपमा बढाएको विगतकै नजिर छ । त्यसकारण मूल्यमा प्रभाव प्रर्दैन ।