काठमाडौं । देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट १८ घण्टा विद्युत् उत्पादन बन्द भएको छ । जलविद्युत् केन्द्रको जलाशयमा थुप्रिएका गेग्रान सफा गर्न आज बिहानबाट विद्युत् उत्पादन बन्द गरिएको हो ।
४ सय ५६ मेगावाट क्षमताको जलविद्युत् केन्द्रमा सोमबार बिहान ४ बजेबाट राति १० बजेसम्म जलाशयको पानी खाली गरेर थुप्रिएको बालुवा तथा अन्य गेग्रान हटाउन लागिएको हो । जसका कारण १८ घण्टा विद्युत् उत्पादन बन्द हुने विद्युत् केन्द्रका प्रवन्धक पूर्णगोपाल रञ्जितले बताए ।
तामाकोसी जलविद्युत् केन्द्रले सोही समयमा बालुवा थिग्राउने पोखरी, टनेल, र विद्युत् गृहको समेत सरसफाइ र मर्मत गर्ने उनले बताए । ‘वर्षमा दुई पटक जलाशय सफा गर्नुपर्ने भएपनि हालसम्म एक पटक मात्रै सफा गरिएको छ,’ उनले भने, ‘अबदेखि हिउँद र वर्षा दुवै समयमा जलाशय सफा गर्ने तालिका बनाएका छौं ।’
जलशय सफा गर्ने क्रममा तामाकोसी नदीको वहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । जलाशय खाली गर्ने क्रममा बाँधस्थलबाट पानी छाड्दा नदीमा एक्कासी पानी सतह बढ्ने भएकाले तामाकोसी र सुनकोसी तटीय क्षेत्रका स्थानीयलाई माछा मार्न, पौडी खेल्न, नुहाउन लुगा धुन, शव जलाउन, नदीबाट बालुवा निकाल्न नजान आग्रह गरिएको छ ।