काठमाडौं । डिजिटल राइट्स नेपालले ‘डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका’ सार्वजनिक गरेको छ । पुस्तिकाले नागरिक, शिक्षक शिक्षिका, नीति निर्माता तथा अभियन्ताहरूलाई अनलाइन स्पेसमा रहेका सुरक्षासम्बन्धी चुनौती वा जटिलताहरूलाई बुझाउने र सुरक्षित तवरले डिजिटल टेक्नोलोजीहरूको प्रयोग गर्नका लागि आवश्यक सिप र उपयुक्त उपकरणहरूको बारे सचेतना फैलाउने लक्ष्य राखेको छ।
हाते पुस्तिकामा अनलाइन अभिव्यक्तिको स्वतन्त्रता, गोपनीयता, तथ्यांक संरक्षण, सूचनामा पहुँच, इन्टरनेट शासन तथा साइबर सुरक्षा लगायतका विषयहरू समावेश गरिएका छन् । पुस्तिकाले डिजिटल साक्षरता बढाउन र अनलाइन स्पेसलाई सुरक्षित बनाउनका लागि व्यवहारिक मार्गदर्शन र उपयोगी सुझावहरू समेत प्रदान गर्ने छ । संस्थाका कार्यकारी निर्देशक सन्तोष सिग्देलका अनुसार हाते पुस्तिका डिजिटल साक्षरता अभिवृद्धि गर्ने र सुरक्षित अनलाइन वातावरणलाई प्रवर्द्धन गर्ने बताइएको छ ।