एजेन्सी । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न, रकम र अन्य सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ । विगतको तुलनामा डब्लूएफपीले दुई वर्षयता आधा मात्र सहायता रकम पाउँदै आएको छ । यसले भोकमरीको समस्या भएका थुप्रै देशका करोडौं मानिस प्रभावित भएका हुन् । डब्लूएफपीका कार्यकारी उपनिर्देशक कार्ल स्काउले हालै एक कार्यक्रममा ८६ देशमध्ये ३८ वटामा विभिन्न सहायता कटौती भएको बताए । केही देशमा सहयोग घटाउने क्रम जारी छ ।
सहयोग कटौती हुने देशहरूमा अफगानिस्तान, सिरिया, यमन र पश्चिम अफ्रिकाका देश छन् । उनका अनुसार डब्लूएफपीको कार्यक्रम सञ्चालनका लागि हाल २० अर्ब डलरको आवश्यकता पर्छ । तर, पछिल्ला वर्षमा प्राप्त सहायताअनुसार उसले यस वर्ष पनि १० देखि १४ अर्ब डलरसम्म सहायता पाउने अपेक्षा गरेको छ । ‘तर हालसम्म त्यसको आधा अर्थात् ५ अर्ब डलरको हाराहारीमा पाएका छौं,’ उनले भने ।
सन् २०२१ यता कोभिड–१९ को महामारी र रुस–युक्रेन युद्धका कारण विश्वभर मानवीय सहायताको आवश्यकता बढेको छ । ‘यस्तो अवस्था झनै बढ्दो छ,’ उनले भने, ‘तर, डब्लूएफपीलाई सहायता रकम भने घट्दो छ । त्यसैले आगामी वर्ष अवस्था झनै भयावह हुन सक्छ ।’ मानव इतिहासकै ठूलो खाद्यान्न र पोषणको संकट हाल पनि रहेको स्काउको भनाइ छ । ‘यो वर्ष ३४ करोड ५० लाख व्यक्ति खाद्य असुरक्षाको वर्गमा परेका छन्, जब कि करोडौं मानिस भोकमरीको खतरामा छन् ।’
उनका अनुसार वैश्विक अर्थव्यवस्थामा मन्दी, वातावरणीय परिवर्तन, निरन्तर प्राकृतिक विपत्ति, बढ्दो मुद्रास्फीति, मूल्यवृद्धि, बढ्दो ऋणको तनावले पनि खाद्य संकटको समस्यालाई बढावा दिएको छ । डब्लूएफपीले अफगानिस्तामा गत मार्चमा भोकमरीको चपेटामा रहेका समुदायको खाद्यान्नमा ७५ देखि ५० प्रतिशतसम्म कटौती गर्न बाध्य भएको स्काउले बताए । यस्तै, गत मेमा ८० लाख व्यक्तिको सहायतामा पनि कटौती गर्नुपरेको उनले जानकारी दिए । हाल अफगानिस्तानमा केवल ५० लाखलाई मात्र सहयोग गरिरहेको स्काउले बताए । यस्तै, सिरियामा डब्लूएफपीको कार्यक्रमअनुसार ५५ लाख व्यक्तिलाई सहयोग गरिँदै आएको थियो । तर, गत जुलाईमा सहयोग प्राप्त गर्ने व्यक्तिको संख्या २५ लाखमा झरेको छ ।
यस्तै, प्यालेस्टाइन क्षेत्रमा डब्लूएफपीले दिँदै आएको नगद सहयता गत मे र जुनमा २० प्रतिशतले कटौती गरिएको छ भने ६० प्रतिशत अर्थात् २ लाख व्यक्तिको सहायतामा पनि कटौती गरेको छ । यमनमा आगामी अगस्टमा करिब ७० लाख व्यक्तिलाई गरिँदै आएको सहायतामा कटौती गर्नुपर्ने स्काउले बताए । ‘पश्चिम अफ्रिकामा भोकमरीको समस्या डरलाग्दो रूपमा छन् । तर, त्यहाँका धेरै देशहरू खाद्यान्न कटौतीको मारमा छन्,’ उनले भने, ‘विशेषगरी साता देशहरू बुर्किना फासो, माली, चाड, सेन्ट्रल अफ्रिकन रिपब्लिक, नाइजेरिया, नाइजर र क्यामरुनमा यस्तो संकट छ ।’ डब्लूएफपीले आफ्ना सहायताको आधारलाई विविधता दिन खोजिरहेको छ । साथै, यस्तो संकटको समयमा अगाडि आएर सहायता गर्न पनि आफ्ना दाताहरूलाई आग्रह गरेको छ । सहायतामा कमीको विषयमा दाताहरूसँग प्रश्न गर्नुपर्ने स्काउले बताए । उनका अनुसार युरोप तथा अमेरिकाबाट पहिलो जसरी गत दुई वर्षमा सहायता र मानवीयता बजेट प्राप्त हुन सकेको छैन ।
खाद्य असुरक्षामा मात्र परेका व्यक्तिहरूको सहयोग घटाएर वास्तविक भोकमरी वा खाद्यान्न संकट परेकालाई सहयोग गर्न सकिने स्काउले बताए । तर, यसले खाद्य असुरक्षामा परेको वर्ग तीव्र रूपमा खाद्यान्न संकटको तहमा आइपुग्ने उनको भनाइ छ । ‘यसले मानवीय सहायता आवश्यक पर्ने झनै बढ्नेछ,’ उनले भने । त्यसैले खाद्यान्न कटौती मात्र हालको समस्याको दीर्घकालीन समाधान नभएको स्काउले बताए । उनले विश्वका प्रमुख नेताहरूलाई सहायता बढाउन आग्रह गरे ।