धनगढी । भ्रष्टाचार मुद्दामा मुछिएका सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक हेमराज विष्टले विशेष अदालतबाट सफाइ पाएको छ । झण्डै ७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका बिष्टले विशेष अदालतबाट सफाइ पाएका हुन् ।
प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका बिष्ट अदालतबाट दोषी ठहर नभएपछि पुुनः निमित्त निर्देशकको रुपमा कामकाजमा फर्किएका छन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसीले बिष्ट केही दिनअघिदेखि निमित्त निर्देशकको रुपमा काममा खटिएको जानकारी दिए ।
अदालतबाट सफाइ पाएपछि उनी मन्त्रालयमा हाजिर भएका थिए । मन्त्रालयले उनलाई पहिलेकै जिम्मेवारी वन निर्देशनालयको निमित्त निर्देशकका रुपमा कामकाज गर्ने गरी खटाएको सूचना अधिकारी केसीले बताए ।
बिष्टले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बल्लभ बास्तोलाले बिष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत सम्पत्ति आर्जनमा सफाइ दिएको थियो ।
बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा ६ करोड ८७ लाख ५७ हजार बराबरको अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।