काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित गलैँचा उद्योगबाट ८ जना बाल श्रमिकहरूको उद्धार गरिएको छ । डुमरबानास्थित सुष्मा गलैँचा उद्योगबाट १७ वर्षमुनिका ३ जना बालिका र ५ जना बालकको उद्धार गरिएको हो ।
श्रम तथा रोजगार कार्यालय वीरगंज, जीतपुर सिमरा उपमहानगरपालिका र सिविन नेपाल मकवानपुरको टोलिले शुक्रबार बाल श्रमिकहरूलाई उद्धार गरि बाल हेल्प लाइन हेटौँडाको आवासमा ल्याइएको सिविन मकवानपुरका संयोजक झवेन्द्र ज्ञवालीले जानकारी दिए । संयोजक ज्ञवालीका अनुसार उद्धार गरिएका मध्ये मकवानपुरको राक्सिराङ् गाउँपालिकाका ३ जना र बाराको निजगढ नगरपालिकाका ५ जना रहेका छन् ।
राक्सिराङ् गाउँपालिकाका सोम बहादुर बुलनले आफ्नो १४ वर्षीय छोरालाई गलैँचा कारखानाबाट उद्धार गरिदिन बाल हेल्प लाइनमा निवेदन दिएपश्चात् उनीहरूको उद्धार गरिएको उनले बताए ।
संयोजक ज्ञवालीका अनुसार निवेदनपश्चात् अनुगमनका क्रममा बालबालिकाहरूलाई ठेकेदारमार्फत काममा लगाइएको, नेपाल सरकारले तोके बमोजिमको तलब नदिइएको, दिनमा १६ घण्टासम्म काम लगाइएको, कार्यस्थलबाट बाहिर आवतजावत गर्न प्रतिबन्ध गरेको, बालबालिकाहरूको खानपान बसाइ अति निकृष्ट प्रकारको रहेको, चरम श्रम शोषण भएको, आफूले भनेअनुसार काम नगर्ने बालबालिकाहरूलाई यातना समेत दिने गरेको पाइएको छ ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                         
                     
                     
                    .jpg) 
                     
                     
                     
                     
                    